भदौ १ मा संहिताको स्मरण : आदर्श विद्यालयमा ‘संहिता दिवस’ विशेष कार्यक्रम सम्पन्न

-


     राजेशचन्द्र राजभण्डारी     
     भाद्र १ गते २०८२ मा प्रकाशित


बागलुङ, भदौ १
२०७५ साल भदौ १ गतेदेखि लागू भएका मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको स्मरणमा बागलुङको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयमा संहिता दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ।

बागलुङ जिल्लाको कानुन विषय अध्यापन गर्ने एकमात्र विद्यालयको हैसियतमा रहेको आदर्श विद्यालयले यही दिनलाई संहितासम्बन्धी दिवसका रूपमा मनाउँदै स्थापना दिवसको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपेन्द्र केसी, सहायक प्रधानाध्यापक दिपक सुवेदी, कानुन विषयका शिक्षकहरू ऋषिराम रिजाल, हरिप्रसाद गौतम र सरोज पन्त, साथै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी लगायत कानुन सबैले जान्नु पर्ने बुझ्नु पर्ने बिषय भएको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक केसीले भने, “संहिता दिवस कानुनी चेतनाको प्रसारका लागि मात्र नभई शिक्षार्थीमा व्यवहारिक ज्ञान अभिवृद्धिका लागि पनि प्रेरणादायी अवसर हो।”

अन्तरक्रिया सत्रमा कानुन विषय अध्ययनरत विद्यार्थी निशा खड्का र प्रदीप हमालले नयाँ संहिताका व्यवहारिक चुनौतीहरू, कानुनी शिक्षाको गुणस्तर, र समुदायमा यसको प्रभावबारे धारणा राख्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अभिप्रेरित गर्ने बताए।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजभण्डारीले संहिताले मुलुकमा कानुनी जागरुकता बढाएको उल्लेख गर्दै युवा पुस्तामा कानुनी चेतना फैलाउन विद्यालयको भुमिका महत्वपूर्ण रहेको बताए।

कानुन शिक्षक ऋषिराम रिजाल, हरिप्रसाद गौतम र सरोज पन्तले संहिताका प्रमुख प्रावधानहरू, तिनको ऐतिहासिक पृष्ठभूमि, र व्यवहारिक कार्यान्वयनका पक्षमा धारणा राख्दै शिक्षण कार्यसँगै व्यवहारिक ज्ञानको संयोजन आवश्यक रहेको बताए।