
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा यो सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासद्वारा आज ललितपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले भारतलाई नेपालको असल छिमेकी राष्ट्रका रूपमा वर्णन गर्नुभयो। उहाँले दुई देशबीचको शताब्दीयौँ पुरानो सम्बन्धका विविध आयामबारे चर्चा गर्दै यसलाई सम्मानपूर्वक अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो।

भारतको उल्लेखनीय आर्थिक प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै मन्त्री डा. राणाले व्यापार, प्रविधि, पूर्वाधार तथा जनस्तरका आकांक्षामा दुई देशबीचको सहकार्य अझ सघन बन्ने अपेक्षा व्यक्त गर्नुभयो। नेपाल–भारत सम्बन्ध केवल भौगोलिक सीमासम्म सीमित नरहेको उल्लेख गर्दै उहाँले हिमाल, नदी र प्राचीन सभ्यताको साझा ज्ञान तथा सांस्कृतिक नाताले दुई देशबीचको सम्बन्धलाई अटुट बनाएको बताउनुभयो।
उहाँले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानका लागि द्विपक्षीय सहकार्य आगामी दिनमा झनै महत्वपूर्ण हुने धारणा राख्नुभयो।
यसअघि, मन्त्री डा. राणाले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरमार्फत भारत सरकार र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्याङ्कन गर्दै आएको उल्लेख गर्नुभयो।










