बागलुङ उद्योग वाणिज्य संघका महिला उद्यमी टोलीको लेखनाथ भ्रमण

-


     हिडन खबर    
     श्रावण ३१ गते २०८२ मा प्रकाशित


लेखनाथ, साउन ३०
बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरूको टोली अध्ययन अवलोकन भ्रमणका क्रममा बुधवार लेखनाथ पुगेको छ। लेखनाथ आगमन अवसरमा लेखनाथ उद्योग वाणिज्य संघले टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।

संघका महिला उद्यमी समन्वय उपसमिति संयोजक एवं कार्यसमिति सदस्य गंगा मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दुई संघबीचको आपसी सम्बन्ध सुदृढ गर्दै महिला उद्यमीहरूको अनुभव आदान–प्रदान तथा उद्यमशीलता सम्बन्धी गतिविधिमाथि विस्तृत छलफल गरिएको थियो।

बागलुङ महिला विकास समितिकी अध्यक्ष अर्चना कुमारी पालिखेको नेतृत्वमा आएको टोलीका सदस्यहरूले लेखनाथ उद्योग वाणिज्य संघका कार्यदिशा, कार्यक्रम र उपलब्धिबारे जिज्ञासा राखेका थिए। संघका अध्यक्ष विनोद श्रेष्ठले सहभागीहरूमाझ संघका गतिविधि, महिला उद्यमशीलता प्रवर्द्धनका प्रयास तथा भविष्यका योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्य, कोषाध्यक्ष ध्रुवबाबु भट्टराई, कार्यसमिति सदस्य प्रभाकुमारी पौडेल लामिछाने, पूर्व कार्यसमिति सदस्य मेनुका श्रेष्ठ, पूर्व सल्लाहकार विमला थापा बस्नेत, बागलुङ महिला विकास समितिकी महासचिव पिङ्गला जिसी, सल्लाहकार उषा पौडेल लगायतले महिला उद्यमीहरूको भूमिकामाथि विचार प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन संघका उपमहासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन महिला उद्यमी समन्वय उपसमिति सह–संयोजक शर्मिला श्रेष्ठले गरेकी थिइन्।