चलचित्र ‘मिरमिरे’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन

-


     हिडन खबर    
     श्रावण ३० गते २०८२ मा प्रकाशित


काठमाडौं । यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘मिरमिरे’ को छायांकन सम्पन्न भएको छ। कुल ३५ दिनमा चलचित्रको मुख्य छायांकन कार्य सकिएको हो।

चलचित्रको छायांकन काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरू र मकवानपुरको चित्लाङमा गरिएको हो। अहिले चलचित्रको एउटा गीतको छायांकन मात्र बाँकी रहेको निर्देशक यम शेर्पाले जानकारी दिए।

अब एउटा गीतको छायांकन गर्न बाँकी छ। समय अनुकूल पारेर छायांकन सम्पन्न गर्नेछौं,” – निर्देशक शेर्पा।


‘मिरमिरे’ यही माघ १ गते प्रदर्शनमा आउने पक्का भएको छ। चलचित्रको प्रदर्शन मिति नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर निर्माण पक्षले केही दिनअघि सार्वजनिक गरेको हो।

यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु प्रमुख भूमिकामा छन्। अन्य कलाकारहरूमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायत छन्।

चलचित्रमा बाल कलाकारको रूपमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय देख्न पाइनेछ।

‘मिरमिरे’को कथा तथा निर्देशन यम शेर्पाकै रहेको छ भने छायांकनको जिम्मेवारी आलोक शुक्लाले सम्हालेका छन्।

चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। कार्यकारी निर्माता तथा वितरण संयोजकको भूमिका आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेलले निर्वाह गरेका छन्।

अन्य प्राविधिक टिममा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट, दिलीप पन्त निर्माण नियन्त्रक तथा बीरेन्द्र शाही लाइन प्रोड्युसरको रूपमा रहेका छन्।

देशभर ‘मिरमिरे’ को वितरणको जिम्मेवारी आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले लिएका छन्।