चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलमा भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     श्रावण ३० गते २०८२ मा प्रकाशित


बागलुङ, साउन २९

हालको शिक्षण प्रणाली व्यवहारिकभन्दा सैद्धान्तिकमै केन्द्रित रहेको गुनासो भइरहेका बेला बागलुङको एक निजी विद्यालयले सामाजिक विषयलाई व्यवहारिक रूपमा सिकाउने अभ्यास थालेको छ।

बागलुङ नगरपालिका–१, रामरेखास्थित चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले सामाजिक शिक्षाको ‘भूकम्प’ सम्बन्धी पाठलाई व्यवहारिक रूपमा प्रस्तुत गर्दै उदाहरणीय कार्यको सुरुवात गरेका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठले सामाजिक विषय बहुआयामिक भएको उल्लेख गर्दै, “सामाजिक विषयहरू केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक रूपमा प्रस्तुत गर्नु आवश्यक छ,” भन्नुभयो। उहाँले विद्यार्थी स्वयं सक्रिय भएर प्रस्तुत गरेको कार्यक्रम निकै सफल र प्रभावकारी रहेको बताउनुभयो।

सहकार्य पक्षबाट सहभागी लायन्स क्लबका नारायण आचार्यले, “विद्यार्थीहरूको क्षमता प्रस्फुटन गराउने यस्ता कार्यक्रमहरू प्रेरणादायी हुन्छन्,” भन्दै विद्यालयसँग सामाजिक सचेतनासम्बन्धी कार्यक्रममा सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, धौलागिरी बहुमुखी क्याम्पसका उपप्राध्यापक दीपेन्द्र न्यौपानेले व्यवहारिक र सचेतनामूलक कार्यमा विद्यार्थीको भूमिका अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। शिक्षण सहायक प्रदीप पन्तले कार्यक्रमको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो भने माध्यमिक तह संयोजक गणेश कार्कीले विद्यार्थीहरूले प्राप्त अवसरको सकारात्मक सदुपयोग गरेको बताए।

सामाजिक शिक्षक जीवननाथ शर्मा रेग्मीले विद्यालयले सामाजिक विषयलाई समाजसँग जोडेर विपद् व्यवस्थापन, जेष्ठ नागरिक सम्मान, भूकम्पलगायत विविध समसामयिक विषयमा निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यार्थीहरू दीपशिखा न्यौपाने, पिसियस पन्त, प्रसना घिमिरे, पल्पसा आचार्य, बबिता शर्मा, रितिस्मा के.सी., सिमरन थापाले भूकम्पसम्बन्धी प्रस्तुति दिएका थिए।

कार्यक्रम बबिता शर्माको अध्यक्षता, सिमरन थापा, रितिस्मा के.सी. र दीपशिखा न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।