
बागलुङ, साउन २८
बागलुङ नगरपालिका–१३ कालाखोला स्थित कालीगण्डकी करिडोरमा आज बिहान पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय बलेवाका अनुसार बिहान करिब ९ः३० बजे सडक भन्दा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि यातायात आवागमन पूर्ण रूपमा रोकिएको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्र.स.नि. कृष्ण पोखरेलको कमाण्डमा दुई जनाको प्रहरी टोली खटिएको छ। टोलीले सम्बन्धित निकायसँग समन्वय गर्दै सडक खुलाउने पहल सुरु गरेको प्रहरीले जनाएको छ।
अवरुद्ध स्थान इ.प्र.का. बलेवाबाट करिब ८ किलोमिटर पश्चिमतर्फ पर्ने भएको र सडक सफा गर्न मेसिन प्रयोग गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।









