
काठमाडौं – बलियो कलाकार सूचीसहितको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। यसका मुख्य भूमिकामा अभिनेता विजय बराल छन्, जो अलटाइम ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ का नायक पनि हुन्।
‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका विजयको अभिनयले देश–विदेशमा दर्शकको प्रशंसा कमाएको थियो। यो चलचित्र हालसम्म नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ, जसले नेपालभित्र र बाहिर गरेर करिब पौने एक अर्ब रुपैयाँको व्यापार गरेको थियो।

त्यसपछि मुख्य भूमिकामा आएको विजयको यो पहिलो फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हो। चलचित्र रिलिजको पूर्वसन्ध्यामा ‘पूर्ण बहादुरको सारङ्गी’मा देखिएको विजयको लोकप्रियता र अभिनयको रापताप यसमा पनि देखिन्छ कि भन्ने विषयमा दर्शकमाझ चासो बढेको छ।

निर्देशक हिमाल न्यौपानेले यो चलचित्र पनि परिवारका सदस्यबीचको भावनात्मक कथा र गाउँको परिवेशमा आधारित भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्। अभिनेता विजय बरालले पनि अघिल्लो फिल्मजस्तै दर्शकको माया पाउनेमा आत्मविश्वास व्यक्त गरेका छन्।
चलचित्रमा विजयसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ।
पेपरक्लिपको ब्यानरमा बनेको यस फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन्, जसले यसअघि अभिनयमा सक्रिय रहे पनि यो फिल्ममार्फत निर्देशनमा पाइला चालेका छन्। मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत हुन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकका रूपमा छन्।
निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ।

निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ।
‘पूर्ण बहादुरको सारङ्गी’को ऐतिहासिक सफलता पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यस वर्षको यो पहिलो फिल्म भएकाले दर्शकमा उच्च अपेक्षा छ।










