
बागलुङ, साउन २७ – गण्डकी प्रदेशको दोस्रो व्यापारिक केन्द्र र पर्यटन गन्तव्यका रूपमा परिचित बागलुङको आर्थिक हैसियत जोगाउन स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
साबिकको धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको बागलुङमा हाल पर्यटन र घरेलु उद्योगसम्बन्धी गतिविधि सक्रिय रहेका छन्। पोखराबाटपछि दोस्रो प्रमुख पर्यटकीय गन्तव्य मानिने बागलुङको व्यापारिक संरचना कमजोर पार्ने निर्णय भएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्।
हालै प्रदेश सरकारले उद्योग कार्यालय पुनर्गठन गर्ने निर्णय गर्दै बागलुङबाट हटाउने तयारी गरेको खबर सार्वजनिक भएपछि, पूर्व सचिव शंकरचन्द्र पौडेलको संयोजकत्वमा बनेको पुनरावलोकन समितिको प्रतिवेदन विपरीत निर्णय भएको दाबी गर्दै त्यसको खारेजीको माग गरिएको हो।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल समाजवादी पार्टी लगायतका स्थानीय नेताहरूको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा, उद्योग कार्यालय बागलुङमै कायम नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ।












