नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पहल गर्ने प्रतिवद्धता : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

-


     हिडन खबर    
     श्रावण २७ गते २०८२ मा प्रकाशित


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज–भारतको नयाँदिल्ली बीच सिधा हवाई उडान सञ्चालनका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

नेपालगञ्ज–दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आइतबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायत सरोकारवालाहरुसँगको भेटमा मन्त्री डा. राणाले उक्त प्रतिबद्धता व्यक्त गर्नुभयो।

“यो उडानका लागि मैले पहिलेदेखि नै पहल गर्दै आएको छु। नेपालगञ्ज–दिल्ली उडानलाई हामी प्राथमिकतामा राखेका छौँ। यसले नेपाल–भारत दुवै देशलाई पारस्परिक लाभ पुर्‍याउनेछ। कनेक्टिभिटी बढाउन सके पर्यटन, व्यापार, पारवहन र जनसम्पर्कमा ठुलो फाइदा हुन्छ, त्यसैले म यसका लागि गम्भीरतापूर्वक लाग्नेछु,” उहाँले भन्नुभयो।

परराष्ट्रमन्त्री डा. राणाले नेपाल–भारतबीचको हवाई सम्पर्क सुदृढ भएपछि पर्यटन, उद्योग–व्यापार, पारवहन तथा सांस्कृतिक सम्बन्धमा वृद्धि हुने र पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताउनुभयो। उहाँका अनुसार नेपालगञ्जमा आवश्यक होटल तथा अन्य पर्यटन पूर्वाधार तयार भइसकेका छन्, जसले उडान सञ्चालनमा सहजता ल्याउनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डा बनाउन बाँके–बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दल प्रतिनिधिहरूको सर्वपक्षीय टोलीले आइतबार मन्त्री डा. राणालाई भेटेर आग्रह गरेको थियो।

सर्वपक्षीय टोलीले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा विकास गर्न नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य भएको औंल्याउँदै, यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने बताएका थिए। उनीहरूले नेपालगञ्ज विमानस्थलबाट प्रतिघन्टा ६०० यात्रुलाई सेवा दिन सकिने क्षमता रहेको र आवश्यक पूर्वाधार निर्माण भइसकेको जानकारी पनि दिएका थिए।