
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६औं स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार मन्थलीमा आयोजित कार्यक्रममा संस्थाले जिल्लाका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको हो।
आदिवासी जनजाति क्षेत्रमा खोजमूलक पत्रकारितामा सक्रिय योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष बद्रि नयाँघरेलाइ “खोज पत्रकारिता पुरस्कार” प्रदान गरिएको छ। उक्त पुरस्कार अन्तर्गत नगद रकम र सम्मानपत्र प्रदान गरिएको थियो। यस्तै, नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठलाई “नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार” बाट सम्मानित गरिएको हो। फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर वितरण गर्दै आएको छ।
स्थापना दिवसको अवसरमा “पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो। कार्यक्रममा फोनिज रामेछापका निर्वतमान अध्यक्ष नवराज श्रेष्ठले संस्थागत कार्यपत्र प्रस्तुत गरे भने सचिव सुमित्रा थोकरले सोही विषयमा कार्यपत्र प्रस्तुत गरिन्। प्रस्तुत कार्यपत्रमाथि सहभागी पत्रकारहरूले धारणा राख्दै पर्यटन विकासका लागि प्रभावकारी पत्रकारिता आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमको अध्यक्षता फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले गरेका थिए। सो अवसरमा मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले नगरपालिकाले पर्यटन विकासका लागि विभिन्न योजना बनाई कार्यान्वयन गरिरहेको जानकारी दिए। उनले स्थानीय सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेका स्थलहरूको प्रचार–प्रसारमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै सहकार्यको अपेक्षा व्यक्त गरे।
त्यस्तै, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, पूर्व अध्यक्षहरू हिमाल ढुगेल र बद्रि नयाँघरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै फोनिज रामेछापको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
सम्मानित दुवै पत्रकारले आफूले पाएको सम्मानलाई जिम्मेवारीको रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवार र सत्यनिष्ठ पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे।









