जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक

-


     हिडन खबर    
     श्रावण २५ गते २०८२ मा प्रकाशित


भदौ ६ गतेदेखि प्रदर्शनमा, विजय बरालको मुख्य भूमिका

काठमाडौं । जनै पूर्णिमाको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गरेको संघर्षको कथा देखाइएको छ। बुबाले लिएको ऋण तिर्न कोरिया जाने उद्देश्यले घरबाट निस्किएका विजय बराल काठमाडौंमै अड्किन बाध्य हुन्छन्। बुबालाई पक्की घरमा बसाल्ने सपना पूरा गर्ने क्रममा आफू अरूको बन्दकमा परेको कथावस्तु ट्रेलरको मुख्य आकर्षण बनेको छ।

कोरिया जान नसकेपछि काठमाडौंमा बितेका संघर्षपूर्ण दिन, मिरुना मगरसँगको प्रेम, दिदी केकी अधिकारीलाई भिनाजुले दिएको दुःखजस्ता सामाजिक यथार्थका दृश्यहरूले ट्रेलरलाई भावनात्मक बनाएका छन्। पारिवारिक र निम्न–मध्यम वर्गीय नेपालीको जीवनपद्धतिमा आधारित भएकाले आम दर्शकले मन पराउनेमा निर्माण पक्ष विश्वस्त छ।

चलचित्रको निर्देशन हिमाल न्यौपानेले गरेका छन् भने असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत रहेका छन्। चलचित्रमा मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ।

पेपरक्लिपको ब्यानरमा बनेको यस चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालको रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी छ। संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले तयार पारेका छन्।

चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ। ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।