
काठमाडौं – राजधानी प्रवेश गर्ने मुख्य द्वारको रूपमा परिचित चन्द्रागिरि नगरपालिका क्षेत्रमा लामो समयदेखि सर्वसाधारणका लागि सार्वजनिक शौचालयको अभाव रहेको अवस्थामा अब आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय बन्ने भएको छ।
चन्द्रागिरि नगरपालिका–१५, ढुङ्गाअड्डामा निर्माण भइरहेको अत्याधुनिक सार्वजनिक शौचालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सो शौचालयमा स्नानकक्ष, स्तनपान कक्ष, महिलाका लागि विशेष चेन्जिङ रुम, अपांगमैत्री पहुँचसहित अत्याधुनिक सरसफाइ सुविधा उपलब्ध गराइनेछ।
नगर प्रमुख घनश्याम गिरीले, “राजधानी प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै सर्वसाधारणका लागि आवश्यक आधारभूत सुविधा दिन हामी कटिबद्ध छौँ। यो शौचालयले यात्रु, स्थानीय बासिन्दा र पर्यटकलाई धेरै राहत पुग्नेछ,” भने।
नगर उप–प्रमुख बसन्ती श्रेष्ठले भने, “विशेषगरी महिला र बालबालिकाको आवश्यकता ध्यानमा राखी स्तनपान कक्ष र चेन्जिङ रुमको व्यवस्था गरिएको छ। यसले महिला मैत्री नगर निर्माणमा सहयोग पुर्याउनेछ,” उल्लेख गरिन्।
नगरपालिकाले साउन महिनाभित्रै उक्त शौचालय सञ्चालनमा ल्याउने तयारी गरेको छ। शौचालय सञ्चालनमा आएपछि यात्रु, स्थानीय बासिन्दा र पर्यटकले लामो समयदेखि भोग्दै आएको असुविधा हट्ने नगरपालिकाले विश्वास लिएको छ।









