कालिका मन्दिरदेखि सालग्राम सङ्ग्रहालयसम्म दौड प्रतियोगिता

-


     हिडन खबर    
     श्रावण २४ गते २०८२ मा प्रकाशित


बागलुङ, साउन २३

विश्व युवा दिवसको अवसरमा बागलुङमा दौड प्रतियोगिता हुने भएको छ। लायन्स क्लब अफ बागलुङ कालिगण्डकी र लियो क्लब अफ बागलुङ कालिगण्डकीले साउन २७ गते दौड प्रतियोगिता आयोजना गर्न लागेका हुन्।

बागलुङ कालिका भगवती मन्दिरदेखि कुडुलेस्थित सालग्राम संग्रहालयसम्म १० किलोमिटर दुरीमा प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लखन थापाले बताउनुभयो ।

कार्यक्रम संयोजक विनोद कार्कीका अनुसार, स्वास्थ्यप्रति सचेतना बढाउँदै युवालाई प्रेरित गर्ने तथा बागलुङको पर्यटन र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। शुक्रबार बसेको तयारी बैठकमा विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्रता दिइएको छ।

खुला सहभागितामा हुने प्रतियोगितामा प्रथम हुनेले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार, चौथो हुनेले २ हजार र पाँचौँ हुनेले १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

हालसम्म काठमाडौं, चितवन, कपिलवस्तु, पोखरा, रुकुम लगायत जिल्लाबाट ३० जनाले नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ। क्लबले गत वर्ष पनि यसै प्रकारको प्रतियोगिता आयोजना गरेको थियो।