मध्य पहाडी लोकमार्गमा सडक एकतर्फी सुचारु

-


     हिडन खबर    
     श्रावण २४ गते २०८२ मा प्रकाशित


बागलुङ, साउन २३
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२ खारपानीस्थित मध्य पहाडी लोकमार्गमा आएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आज बिहान करिब ८ः१० बजे सडकभन्दा माथिबाट लेदो सहितको पहिरो खस्दा यातायात आवागमन रोकिएको थियो।

सडक अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ खर्वाङबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.स.नि.) ओम प्रकाश कुर्मीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाएपछि सडक आंशिक रूपमा खुलाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरो खर्वाङ प्रहरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फको खण्डमा खसेको हो।