
बागलुङ ।साउन २२
नेपाल प्रेस युनियनले सञ्चालन गर्न लागेको सय दिने सदस्यता विशेष अभियानको सुरुवात बागलुङबाट गरिएको छ। गण्डकी प्रदेश अन्तर्गत बागलुङ पहिलो जिल्ला हो, जहाँ यो अभियान प्रारम्भ गरिएको हो।
बिहीबार बागलुङमा आयोजित विशेष समारोहमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थितिमा अभियानको औपचारिक सुरुवात गरिएको हो। अध्यक्ष लम्सालले नयाँ सदस्यहरू इशिका थापा मगर र शिशिर जिसीलाई सदस्यता प्रदान गर्दै अभियानको शुभारम्भ गरे।

अभियानको उद्देश्य पुराना सदस्यहरूको सदस्यता नविकरण गर्नुका साथै नयाँ श्रमजीवी पत्रकारहरूलाई संगठनमा आबद्ध गराउनु रहेको अध्यक्ष लम्सालले जानकारी दिए।
उनले भने, “हामी प्रेस युनियनलाई विशुद्ध श्रमजीवी पत्रकारहरूको बलियो संगठन बनाउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याएका हौं।”
अध्यक्ष लम्सालका अनुसार, पत्रकारितालाई पेशा बनाएका व्यक्तिलाई मात्र सदस्यता दिइनेछ। “अहिले जुनसुकै व्यक्ति पत्रकार बन्ने प्रवृत्तिले संगठनको गरिमामा प्रश्न उठेको छ,” उनले थपे, “त्यसैले हामी संगठनलाई शुद्धिकरण गर्दै पत्रकारिता व्यवसायको मर्यादा जोगाउन प्रतिबद्ध छौं।”

पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियानमा उठेका विवादलाई सन्दर्भमा राख्दै लम्सालले प्रेस युनियनले व्यावसायिक पत्रकारहरूलाई मात्र सदस्यता दिनेतर्फ विशेष ध्यान केन्द्रित गरेको बताए।
डिजिटल सञ्चारमाध्यमको दर्ता सम्बन्धमा बोल्दै उनले राज्यले सञ्चारमाध्यमलाई दर्ता नभई अभिलेखीकरण गर्ने व्यवस्था गर्नु उपयुक्त हुने बताए। “डिजिटल सञ्चारमाध्यमहरू दर्ता होइन, अभिलेख हुनुपर्ने हो। यदि राज्य साँच्चिकै सजिलो बनाउने पक्षमा छ भने वडा कार्यालयबाटै अभिलेखीकरणको व्यवस्था मिलाउनु पर्छ,” उनले स्पष्ट पारे।
साथै उनले दर्ता प्रक्रियामा स्थानीय अधिकारीको इच्छा अनुसार स्वीकृति दिने अधिकार अस्वीकार्य भएको धारणा राखे। “डोमेन नाम दर्ता भइसकेपछि पुनः स्थानीय निकायबाट दर्ता गराउने व्यवस्था आवश्यक छैन। नियमन गर्ने निकाय स्वतन्त्र र स्वायत्त हुनुपर्छ,” उनले जोड दिए।

कार्यक्रममा केन्द्रीय अध्यक्ष लम्सालले जिल्ला अध्यक्ष संगम घर्तीमगरलाई सदस्यता फाराम हस्तान्तरण गरे। प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरले एक महिनाभित्र पहिलो चरणमा सदस्यता नविकरण र नयाँ सदस्यता वितरण सम्पन्न गरी साधारणसभा आयोजना गर्ने र त्यसपछि अभियानलाई निरन्तरता दिने जानकारी दिए।
कार्यक्रम अध्यक्ष घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष सुवास आचार्यले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव डम्मर बुढामगरले गरेका थिए।










