
बागलुङ, साउन २१
बहुविवाहसम्बन्धी कानुन संशोधन मस्यौदा फिर्ता लिन माग गर्दै नेपाल महिला संघ जिल्ला कार्यसमिति र अन्तर पार्टी महिला सञ्जाल, जिल्ला कार्यसमिति बागलुङले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्।

प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत बुझाइएको हो। नेपाल महिला संघ बागलुङकी जिल्ला अध्यक्ष तथा अन्तर पार्टी महिला सञ्जाल बागलुङकी संयोजक सीता सापकोटाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै प्रस्तावित संशोधनको विरोध जनाएको हो।
उनीहरूले हाल बहुविवाहलाई वैधानिक जस्ताे बनाउने गरी ल्याउन खोजिएको संशोधन मस्यौदा नेपालको संविधान, नागरिक संहिता र विद्यमान कानुनी मान्यताविपरीत रहेको जनाउँदै सो मस्यौदा तत्काल फिर्ता लिन माग गरेका छन्।

प्रस्तावित मस्यौदाले “स्वीकृति प्राप्त बहुविवाहलाई कानुनी रूपमा वैध मान्ने” जस्ता प्रावधान समेटिएको भन्दै त्यसले महिलाको अधिकार, न्याय र लैंगिक समानतामा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।
विद्यमान कानुनी व्यवस्थाअनुसार, नेपालको संविधानको धारा १८ ले समानताको हक सुनिश्चित गरेको छ भने, नेपाल नागरिक संहिता २०७४ को दफा १७५ (१) बमोजिम बहुविवाह गैरकानुनी मानिन्छ। बहुविवाह गर्ने व्यक्तिलाई दफा १७९ अनुसार कैद र जरिवानाको प्रावधान गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा अन्तर पार्टी महिला सञ्जाल र नेपाल महिला संघका पदाधिकारीहरू, महिला अगुवा तथा सरोकारवालाहरूको उपस्थिति थियो।










