
२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक परे आन्दोलन गर्ने तयारीका साथ पारित गर्न बाध्य भएको खुलासा गर्नुभएको छ।

लेखक लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गर्दै आएको जानकारी दिनुभयो।
“नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो,” उहाँले भन्नुभयो, “कार्यदलले अनुमोदन गर्नु नहुने निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेको थियो।”

त्यसक्रममा उहाँले नेकपाको तत्कालीन स्थायी समिति बैठकको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, “बाहिर प्रचार भइसकेको थियो कि नेपाल इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपीएस) मा सहभागी भएको छ। तत्कालीन परराष्ट्रमन्त्रीले अस्वीकार गरे पनि पछि अमेरिकाले नेपाललाई सहभागी राष्ट्र घोषणा गरेपछि मन्त्रीले पार्टी र जनतालाई ढाटेको प्रस्ट भयो।”
अध्यक्ष प्रचण्डका अनुसार त्यतिबेला नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्न जोडदार ढंगले लागिपरेको थियो। यस्तै, एमालेसँग छलफल गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी नेतृत्व कांग्रेसभन्दा पनि कडा रूपमा “एमसीसीमा कमा, फुलस्टपसमेत परिवर्तन गर्न नहुने” अडानमा रहेको प्रस्ट भएको उहाँको भनाइ छ।

हामीले त्यसरी जस्ताको तस्तै पारित गर्नुहुँदैन भन्नेमा अडान लियौं,” उहाँले भन्नुभयो, “यहाँसम्म कि एमाले सहमत हुने हो भने नेतृत्व उनीहरूलाई दिन पनि तयार थियौं।”
तर, एमाले र कांग्रेस दुवैको कठोर अडानका कारण संशोधन सम्भव नहुने निष्कर्षमा पुगेको भन्दै उहाँले भन्नुभयो, “त्यसपछि हामी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्न बाध्य भयौं। संसदबाट अनुमोदन नभएको खण्डमा त्यो जस्ताको तस्तै पारित हुने जोखिम थियो।”

उहाँले माओवादी केन्द्रले एमसीसी र आइपीएसप्रति सबैभन्दा स्पष्ट र दृढ अडान राखेको दाबी गर्दै, भविष्यमा कुनै गलत नियतका कार्य भएमा त्यसविरुद्ध आन्दोलन गर्न सकिने आधारका रूपमा व्याख्यात्मक टिप्पणी रहेको उल्लेख गर्नुभयो।
पुस्तक विमोचन कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरू, लेखक लीलामणि पोखरेल तथा विभिन्न बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।










