
काठमाडौं, साउन १९
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक २०८२ साउन १६ गतेदेखि सुरु भई चार दिनसम्म व्यापक, गम्भीर र जीवन्त बहससहित आज साउन १९ गते सकारात्मक निष्कर्षसहित सम्पन्न भएको छ।
बैठकले पार्टीको संगठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। विचारको स्वतन्त्रता र आन्तरिक बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता अनिवार्य रहेको धारणा बैठकले प्रस्तुत गरेको छ। साथै, पार्टी हितविपरीत निजी स्वार्थमा आधारित गुट र स्वार्थ समूहहरूको अन्त्य गर्न सामूहिक संकल्प व्यक्त गरिएको छ।
बैठकले प्रतिगमन र यथास्थितिवादविरुद्ध दृढतापूर्वक उभिएर सामाजिक–आर्थिक रूपान्तरण र सामाजिक न्यायसहितको समृद्धिलाई राष्ट्रिय कार्यभारका रूपमा स्वीकार गरेको छ। त्यस कार्यभार सम्पन्न गर्न पार्टीको रूपान्तरण र पुनर्गठन प्रक्रिया थप सशक्त र गतिशील रूपमा अघि बढाइने निर्णय गरिएको छ।
त्यस्तै, नेकपा (विप्लव) लगायतका क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै संवाद अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरण तथा विस्तारमा प्रयत्न गर्ने निर्णय पनि बैठकले गरेको छ। विगतमा भएका पार्टीगत कमजोरीहरूको समीक्षा गर्दै सुधारका उपायमा समेत छलफल गरिएको छ।
अत्यधिक वर्षाका कारण स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई २०८२ सालको भदौ महिनाको तेस्रो साताबाट पुनः सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको छ। साथै, २०७९ सालको राष्ट्रिय महाधिवेशनअन्तर्गत यस वर्षको दशैँपछाडि केन्द्रीय समिति बैठक बोलाउने र सो बैठकबाट महाधिवेशनको मिति तोक्ने निर्णय पनि भएको छ।
बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुशासन तथा सामाजिक न्यायसँग सम्बन्धित विषयमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै खबरदारीसमेत गरेको छ।












