
काठमाडौं, १८ साउन – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको छ।
आज महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालजस्तो मुलुकमा चिकित्सक सहजै उपलब्ध नहुन सक्ने अवस्थालाई उल्लेख गर्दै, नागरिक स्वास्थ्य सेवाका आधारस्तम्भका रूपमा नर्सहरूलाई उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “ग्रामीण बस्तीदेखि शहरी अस्पतालसम्म नर्सहरूको सेवा, समर्पण र विरामीहरूप्रतिको व्यवहार नै हाम्रो स्वास्थ्य प्रणालीको मेरुदण्ड बनेको छ। जनस्वास्थ्यको उपलब्धता र आधारभूत सेवाका लागि नर्सहरूको योगदान झनै महत्वपूर्ण बन्दै गएको छ।”
नर्सिङ सेवाबाट बिरामीको उपचार मात्र होइन, उनीहरूको मनोबल अभिवृद्धि, आपतकालीन अवस्था व्यवस्थापन तथा परामर्शको माध्यमबाट मातृ–शिशु स्वास्थ्यमा सुधार र ग्रामीण क्षेत्रमा स्वास्थ्य शिक्षाको सचेतना वृद्धि भएको उहाँले स्पष्ट पार्नुभयो।
मन्त्री डा. राणाले समर्पित नर्सहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “यस संवेदनशील सेवामा कार्यरत नर्सहरूलाई सेवा सुरक्षासहित समयानुकूल तालिम तथा प्रविधि उपलब्ध गराउनु अत्यावश्यक छ।”
उहाँले नर्सहरूलाई केवल स्वास्थ्य सेवकका रूपमा सीमित नराखी, एक प्रशिक्षित स्वास्थ्य अभियन्ताको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्दै भन्नुभयो, “नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली निर्माणमा नर्सहरूको भूमिकालाई अझ सशक्त बनाउनु पर्दछ।”
कार्यक्रममा मन्त्री डा. राणाले मातृ–शिशु स्वास्थ्य प्रवर्द्धनका लागि आफूले सेफ मदरहुड नेटवर्कमार्फत सञ्चालन गर्दै आएको अभियानको स्मरण गर्दै भन्नुभयो, “मातृ स्वास्थ्यको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको छ। अब नर्सिङ पेशालाई सुविधासम्पन्न र समयानुकूल बनाउँदै लैजानु जरुरी छ।”
नर्सिङ अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानमा केन्द्रित रहन, सेवा भावना र नरम व्यवहारद्वारा बिरामीहरूको आशा र भरोसाको केन्द्र बन्न सुझाव दिँदै उहाँले विदेशी रोजगारीमा जाने नर्सहरूप्रति पनि मन्तव्य दिनुभयो।
“यहाँहरूले राम्रो अवसर पाउनु भएको होला, विदेश जानु स्वाभाविकै हो। तर, त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला। तपाईंहरूको खाँचो यतै धेरै छ,” उहाँले भन्नुभयो।














