बागलुङको जैमिनी नगरपालिकामा ५२ पदको लागि १ सय ४८ जनाले उम्मेदवारी दर्ता

-


     हिडन खबर    
     वैशाख १३ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङको जैमिनी नगरपालिकामा १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख उपप्रमुख सहित ५२ पदको लागि विभिन्न पार्टी र स्वतन्त्रबाट समेत गरी नगर प्रमुख, उप प्रमुख, १० वटा वडाको वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुल्ला सदस्य पदमा १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जैमिनीमा सत्ता गठबन्धनको तर्फबाट नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन र उप प्रमखमा नेपाली कांग्रेसका नेता हरिहर शर्माले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको जैमिनी नगरपालिकामा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन मेयरमा उम्मेदवार बनेका छन्। उनी गत स्थानी निर्वाचनमा काँग्रेस उम्मेदवार ईन्द्रराज पौडेलसंग थोरै मतान्तरले मात्रै पराजित भएका थिए। नेकपा एमालेबाट हालका उपमेयर लिला राना मेयरमा उम्मेदवार छन्। उपमेयरमा नेपाली काँग्रेसबाट हरिहर शर्मा उम्मेदवार बनेका छन्। उनी नेपाली काँग्रेस बागलुङका सचिव पनि हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नगर प्रमुख पदमा निर्मदा बानियाँ क्षेत्री सापकोटा र उप प्रमुख पदमा चिना केसीको उम्मेदवारी परेको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
नगर प्रमुख पदमा स्वतन्त्रबाट जयराम आचार्य र काशिराम आचार्यको उम्मेदवारी परेको छ भने उप प्रमुखमा रुद्रा कुमारी रोका क्षेत्री र कृष्ण राज पौडेलको उम्मेदवारी परेको छ ।