समाजसेवी रिता परियार एनआरएन नर्वेको सहकोषाध्यक्षमा निर्वाचित

-


     हिडन खबर    
     श्रावण १८ गते २०८२ मा प्रकाशित


काठमाडौं ।साउन १७

विदेशको भूमिमा रहेर पनि जन्मभूमिप्रति समर्पण र सेवाको भावना राख्दै सामाजिक कार्यमा क्रियाशील रहनुभएकी समाजसेवी रिता परियार एनआरएन (NRNA) नर्वेको नवौं अधिवेशनबाट सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।

हालै सम्पन्न अधिवेशनमार्फत एनआरएन नर्वेले नयाँ नेतृत्व चयन गरेको हो, जसमा परियारले उल्लेखनीय मतान्तरका साथ सहकोषाध्यक्ष पदमा जित हासिल गर्नुभएको हो। उहाँको निर्वाचनलाई नेपाली समुदायबीच व्यापक स्वागत गरिएको छ।

रिता परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा नर्वेमा बस्दै आउनुभएको छ। विदेशमा बसेर पनि उहाँले सामाजिक सेवालाई निरन्तर प्राथमिकतामा राख्दै आउनुभएको छ। आर्थिक अवस्था कमजोर भएका पिछडिएको वर्ग, अनाथ, असहाय बालबालिका, वृद्धवृद्धा तथा विद्यालयहरूमा शैक्षिक सामग्री वितरण लगायतका क्षेत्रमा उहाँको सक्रियता उल्लेखनीय रहेको छ।

मातृभूमिप्रतिको माया र सेवाभाव

समाजसेवामा लामो समयदेखि समर्पित रहनुभएकी परियारले नेपाली समुदायमा मात्र नभई अन्तर्राष्ट्रिय तहमा पनि सकारात्मक पहिचान बनाउँदै आउनुभएको छ। उहाँले नर्वेमा रहेका नेपालीहरूको समस्यामा समेत चासो राख्दै विभिन्न कार्यक्रम तथा सहायतामूलक गतिविधिहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।

बधाईको ओइरो

रिता परियारको निर्वाचनपछिको सफलताको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाका सन्देशहरूको ओइरो लागेको छ। धेरैले उहाँको सामाजिक योगदानको प्रशंसा गर्दै अझ उच्च जिम्मेवारीमा सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

भविष्यप्रति अठोट

निर्वाचनपश्चात् संक्षिप्त प्रतिक्रिया दिंदै परियारले यो पदलाई अवसरका रूपमा लिँदै प्रवासी नेपालीहरूको हकहित र सामाजिक सेवा कार्यमा अझ जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले भनेकी छिन्, “जहाँ बसे पनि देश र जनताप्रतिको प्रेम कहिल्यै मन्द हुँदैन, अब यो जिम्मेवारीबाट अझ प्रभावकारी काम गर्नेछु।”