
बागलुङ, साउन १६
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला समिति, बागलुङले असंवैधानिक र आत्मघाती गतिविधिको कडा विरोध गर्दै एक विज्ञप्ति सार्वजनिक गरेको छ।
विज्ञप्तिमा भनिएको छ कि अनेरास्ववियु मुलुकको सशक्त, लोकप्रिय र ऐतिहासिक विद्यार्थी संगठनका रूपमा लामो संघर्षको इतिहास बोकेको छ। यो संगठन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र स्वतन्त्रताको पक्षमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएको छ।
हाल अनेरास्ववियुको विधान २०७९ को भाग ११, दफा ३१ (५) अनुसार जिल्ला समिति गठनको प्रक्रिया अघि बढिरहेको अवस्थामा केही व्यक्तिहरूले विधानविपरीत, गुटगत रूपमा आफूखुसी नेतृत्व चयन गरेर समिति घोषणा गरेको घटनाप्रति संगठन गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा उल्लेख छ कि यस्तो कार्य अराजकता, जालझेल र सत्ताको दुरुपयोगको प्रतिविम्ब हो, जसले विद्यार्थी आन्दोलनको मर्यादा र संस्थागत सुदृढीकरणमा ठेस पुर्याएको छ। यस्ता गैरसंवैधानिक गतिविधिप्रति जिल्ला समिति बागलुङले गम्भीर आपत्ति जनाउँदै तत्काल खारेजको मागसमेत गरेको छ।
अन्त्यमा, जिल्ला समितिले आफू संगठनको विधान र प्रक्रियानुसार अगाडि बढिरहेको जानकारी दिँदै त्यस्ता कार्यप्रति पूर्णतः अस्वीकार गरेको स्पष्ट पारेको छ।












