
बागलुङ, १३ साउन
नेपाल बाल संगठन बागलुङको अधिवेशनबाट तारा शर्मा सभापतिमा चयन हुनुभएको छ। मंगलबार सम्पन्न अधिवेशनले शर्मा नेतृत्वमा सात सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको उपसभापतिमा रेणु केसी हमाल, सचिवमा चुडामणि उपाध्याय र कोषाध्यक्षमा योगेश अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा भोजराज पौडेल, विष्णु विक, सृष्टी क्षेत्री र करमती पुन मगर रहेका छन्।
भेलाले सर्वसम्मत रूपमा आठ सदस्यीय समिति चयन गरेपछि बसेको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो। निर्वाचन अधिकृत अधिवक्ता राम शर्माले समितिको औपचारिक घोषणा गर्नुभयो।
सभापति तारा शर्माका अनुसार, यसअघि आफू नेतृत्वको तदर्थ समितिलाई सरकारले अधिवेशन गर्न अनुमति दिएपछि मंगलबार जिल्ला अधिवेशन सम्पन्न गरिएको हो।
अधिवेशनको उद्घाटन नेपाल बाल संगठन केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले गर्नुभयो। उद्घाटन मन्तव्यमा उहाँले बालबालिकाको अधिकार सुनिश्चित गर्न सबैले एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
“बालबालिकाको अवस्था अझै पनि दयनीय छ, उनीहरूको हितका लागि निश्वार्थ रूपमा काम गर्ने संस्था बनाउनुपर्छ,” अध्यक्ष न्यौपानेले भन्नुभयो, “बालबालिकाको सुरक्षा र उद्धार राज्यको प्रमुख जिम्मेवारी हो तर हाल सामाजिक संस्थाहरू नै त्यसमा संलग्न छन्। अब राज्यलाई पनि उत्तरदायी बनाउन संगठनले भूमिका खेल्नुपर्छ।”
नेपाल बाल संगठनको स्थापना २०१८ सालमा भएको हो। स्थापना कालदेखि नै संगठनले देशभर बालमन्दिर सञ्चालन गर्दै आएको छ। साथै, सडक, श्रमिक वा जोखिममा परेका बालबालिकाको उद्धार गरी शिक्षामा जोड्ने काम पनि गर्दै आएको छ।
अधिवेशनमा बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेल, भीमा पोखरा युवा क्लबका अध्यक्ष तोया गौतम, धौलागिरी बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष आस्मिन शेख, नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रम तदर्थ समिति अध्यक्ष तारा शर्माको अध्यक्षता, विज्ञान शर्माको स्वागत मन्तव्य र चुडामणि उपाध्यायको सञ्चालनमा सम्पन्न भएको हो।













