
काठमाडौं, साउन १३ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले नेतृत्व लिएका सामाजिक संघसंस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने सन्देश जनतामाझ स्थापित गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा समाज कल्याण विभागद्वारा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा बोल्दै अध्यक्ष प्रचण्डले सामाजिक संघसंस्थामा माओवादीको हस्तक्षेप सकारात्मक, स्पष्ट कार्यदिशा र जनउत्तरदायी हुनुपर्नेमा जोड दिए।
उनले माओवादीले नेतृत्व लिएका पालिकाहरू अन्यको तुलनामा अगाडि रहेको भन्दै अझ व्यवस्थित ढंगमा योजना बनाएर काम गर्दा थप उपलब्धि हासिल गर्न सकिने बताए। “हाम्रा साथीहरू जहाँ छन्, ती संस्था उत्कृष्ट बन्नुपर्छ। त्यसमा स्पष्ट नीति र एकरूपता आवश्यक छ,” उनले भने।
अध्यक्ष प्रचण्डले माओवादी कार्यकर्ताहरू संस्थामा भए पनि खुलेर सहभागी हुन नचाहने प्रवृत्ति परिवर्तन गर्नुपर्ने धारणा राखे। “हामीले नेतृत्व गरेका संस्थाले जनतामा फरकपन देखाउनुपर्छ,” उनले जोड दिए।
सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको सन्दर्भ उठाउँदै उनले परम्परागत दलहरूको संलग्नताले समस्या उत्पन्न भएको बताए। “हामीले नेतृत्व गर्ने संघसंस्था माओवादी सोचअनुसार फरक ढंगले चल्नुपर्छ,” उनले भने।
उनले सरकारमा रहँदा सामाजिक संघसंस्थाको बजेट नियमन गर्ने र दातृ निकायको सहयोगलाई राज्य लेखामा ल्याउने पहल गरेको पनि स्मरण गरे।
अन्त्यमा, माओवादी केन्द्रले अघि सारेको स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अन्य पार्टीभन्दा फरक रहेको उल्लेख गर्दै उक्त सोच तल्लो तहसम्म पुर्याएर माओवादी पार्टीको भिन्नता स्थापित गर्नुपर्ने बताए।














