
काठमाडौं, साउन १० — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता र प्रतिपक्ष दुवैप्रति कडा टिप्पणी गरेका छन्। आज काठमाडौंको सितापाइला स्थित सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन गर्दै आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले पछिल्लो राजनीतिक परिदृश्य, शिक्षा विधेयक र शिक्षक आन्दोलनबारे धारणा राखे।
प्रचण्डले संविधानले शिक्षकलाई सडकमा आउनु नपर्ने व्यवस्था गरे पनि कार्यान्वयनमा कमजोरीका कारण आन्दोलन गर्न बाध्य भएको बताए। “माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुनुपर्ने थिएन,” उनले भने।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न हालको सरकारले तत्परता नदेखाएकोप्रति असन्तोष व्यक्त गरे। “सरकार तयार नभएपछि तपाईंहरू आन्दोलनमा जानुपर्यो। नेतृत्वबाट अपमानजनक व्यवहार भयो,” उनको भनाइ थियो।
शिक्षा विधेयकका सन्दर्भमा उनले संसदमा भएको छेडछाडप्रति आपत्ति जनाउँदै भने, “हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा षड्यन्त्र गरिएको छ।”
संघीय निजामति सेवा ऐनसम्बन्धी संसोधनतर्फ संकेत गर्दै उनले भने, “कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो।” एमाले सांसदहरूले राष्ट्रिय सभामा पेस गरेको संशोधन प्रस्तावले माओवादी केन्द्रको शंका पुष्टि गरेको उनको भनाइ थियो।
राजनीतिक संकटबारे टिप्पणी गर्दै उनले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको संकट रहेको बताए। “एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारी को भन्ने अन्योल छ,” भन्दै उनले अध्यक्ष ओलीले मदन भण्डारीसम्बन्धी दिएका अभिव्यक्तिहरूलाई वैचारिक दिशाहीनता भनेर आलोचना गरे।
“माओवादी केन्द्र अहिले पनि जनतासँग जोडिने प्रयासमा सक्रिय छ,” उनले भने, “हामी आठौं महाधिवेशनको नीति र विचारअनुसार प्रत्यक्ष जनसम्पर्क अभियानमा छौं। यही वैचारिक स्पष्टता हाम्रो बल हो। अहिले माओवादी केन्द्र मात्र यस्तो पार्टी हो, जहाँ वैचारिक राजनीतिक नेतृत्वको संकट छैन।”
















