चलचित्र ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक

-


     हिडन खबर    
     श्रावण ११ गते २०८२ मा प्रकाशित


काठमाडौं ।साउन १०
साइकोलोजिकल थ्रिलर शैलीमा निर्माण भएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक गरिएको छ। प्रमुख अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माण पक्षले चलचित्रको पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको हो।

मंसिर १२ गते प्रदर्शनमा आउने चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरूको कथा देखाइएको छ। टिजरको सुरुमा आफ्ना बुवाको मृत्यु भएको सपना देखेर डराएकी छोरी र उनलाई सम्झाउँदै डर हटाउन प्रयास गरिरहेका बुवाबीचको संवाद प्रस्तुत गरिएको छ। बुवाले सपनामा मरेको देखिएको मानिसको आयु लामो हुने भन्दै छोरीलाई ढाडस दिन्छन्।

त्यसपछि, आफूलाई कमजोर ठानेर बलियो बन्न हतियार बोकेर हिंडिरहेकी युवती र टाढाबाट सबै कुराको चाल पत्ता लगाइरहेकी अर्की युवतीबीचको मनोवैज्ञानिक डर र संघर्ष देखिन्छ। दृश्यहरूले दर्शकमा त्रास र उत्सुकता बढाउँछ।

पहिलो झलकमा सिनेमाका मुख्य तीन कलाकारहरू बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठलाई निलो पृष्ठभूमिमा प्रस्तुत गरिएको छ। तीनै जना तनावपूर्ण मुद्रामा देखिन्छन्। सृष्टि श्रेष्ठको हातमा रगतले लतपतिएको बन्चरो देखिन्छ, जसले उनले केही क्षणअघि कसैमाथि प्रहार गरेको संकेत गर्छ।

चलचित्र ‘द ब्ल्यू लाइट’ का निर्देशक बलिराम चौहान (ग्याट्स्वी) हुन्। यसअघि ‘बलिदान’ चलचित्रका लेखक तथा सह-निर्देशकका रूपमा परिचित चौहानको यो निर्देशनमा डेब्यु हो।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र सुरक्षा इटानीको मुख्य भूमिका छ। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।

हालसम्म निर्माण पक्षले कलाकारहरूको भूमिकाबारे स्पष्ट जानकारी दिएको छैन। निर्देशक चौहानले भने कथावस्तु विस्तारै खुलाउँदै लैजाने बताएका छन्।

चलचित्रका निर्माता बलिराम चौहान (ग्याट्स्वी), सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन्। कार्यकारी निर्माता छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन्। छायांकन मैनालीले नै गरेका हुन्।

मुख्य सहायक निर्देशक आकाश उखेडा, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।

Link : https://www.youtube.com/watch?v=TyYEruvw-oo