
काठमाडौं, साउन ९ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको र यी दुई देशबीच कैयौँ सांस्कृतिक समानता रहेको बताउनुभएको छ।
राजधानीमा आयोजित ‘थाइ फ्लेभर इन द हिमालाज्’ ट्रेड फेयरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले दुई देशबीच पाहुनाको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्य–मान्यताको सम्मान, सहिष्णुता, र पर्यटन प्रवर्द्धनजस्ता विषयमा समानता रहेको उल्लेख गर्नुभयो।
उहाँले पर्यटनलाई दुवै देशका लागि साझा समृद्धिको माध्यम बनाउन सकिने उल्लेख गर्दै, नेपालको पर्यटन र हस्पिटालिटी क्षेत्रमा थुप्रै सम्भावना रहेको भन्दै थाइ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो।
नेपाल उद्यमशीलता तथा हस्तकलालगायतका उत्पादनमार्फत विश्व बजारमा स्थापित हुँदै गएको जानकारी दिँदै उहाँले थाई उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीको अवसर लिन आग्रह गर्नुभयो।
नेपाल र थाइल्याण्ड कहिल्यै पनि उपनिवेशमा नरहेका स्वतन्त्र तथा स्वाधीन राष्ट्र भएको स्मरण गराउँदै मन्त्री डा. राणाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न थाइल्याण्ड भ्रमणका क्रममा सरकारी तथा निजी क्षेत्रबीच विभिन्न सहमति र समझदारीहरु भएको जानकारी दिनुभयो।
उहाँले उक्त भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको भन्दै भविष्यमा यस्ता उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।
उक्त फेयर नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटको संयुक्त आयोजनामा सम्पन्न भएको हो।













