
काठमाडौं, साउन ८ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३, धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टरको निर्माण कार्य तत्काल अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
आज धितालस्थित भेडाबारीमा स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले सेन्टरको निर्माण प्रक्रिया अघि नबढेको गुनासो राख्दै अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए। उनीहरूले सेन्टरका लागि आवश्यक प्रारम्भिक कार्यहरू — सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण — सकिएको तथा पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी गराएका थिए।
टोलीले प्रारम्भिक चरणमा बजेट विनियोजन र टेन्डर प्रक्रिया सम्पन्न भइसके पनि पछिल्लो समय योजना अलपत्र परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको थियो।
प्रतिनिधिहरूको कुरा ध्यानपूर्वक सुन्नुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, “तपाईंहरूले यो योजना अगाडि बढाउन देखाउनुभएको चासोलाई म धन्यवाद दिन चाहन्छु। यो प्रक्रिया अघि बढिसकेको हो र अब यो परियोजना धितालमै बन्नुपर्छ भन्ने मेरो अडान छ।”
उहाँले पार्टीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र जग्गादाताहरू सबैलाई आश्वस्त पार्दै माओवादी केन्द्रको तर्फबाट योजना अघि बढाउन आवश्यक सम्पूर्ण पहल गरिने बताउनुभयो। साथै, आफैंबाट पनि योजना कार्यान्वयनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।










