
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार उक्त टिजर सार्वजनिक गरेको हो।
टिजर मोरङ जिल्ला कारागारको अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ। त्यसपछि उनी सिक्का टस गर्छन्। टस गरिएको सिक्का चक्रको केन्द्रमा गएर अडिन्छ, जहाँ पजल देखिन्छ। पजलमा सुरुमा चक्कु देखिन्छ। त्यसपछि पहेँलो पोशाक लगाएका चारजना व्यक्ति देखिन्छन्। क्रमशः आगो र झोलाबाट उडिरहेका नोटहरू देखिएसँगै टिजर समाप्त हुन्छ।
टिजरले पैसाका लागि हुने संघर्ष र त्यससँग जोडिएको रहस्यलाई संकेत गरेको देखिन्छ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी भदौ २७ गते नेपाली संस्करणमा प्रदर्शनमा आउँदैछ। हिन्दी संस्करण भने असोज ६ गते (सेप्टेम्बर २२) विश्वव्यापी रूपमा रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।
चलचित्रले पैसाको लोभमा चक्रव्यूहमा फसेको र त्यसबाट उम्कन संघर्ष गरिरहेको पात्रको कथा भन्ने बताइएको छ।
पोस्टप्रोडक्सनको चरणमा रहेको यो चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन्।
सेभेन सिज सिनेमाज को प्रस्तुति रहेको यस चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको निर्देशनमा डेब्यु हो। चलचित्रको लेखन मुकेश खनालले गरेका छन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन्।
निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी, सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्युसर हुन्। चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक तथा सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन्। छायांकन शरद महतोले गरेका हुन्।












