साहित्य, कला र राजनीति क्षेत्रका व्यक्तित्व माओवादी केन्द्रमा

-


     हिडन खबर    
     श्रावण ३ गते २०८२ मा प्रकाशित


काठमाडौँ, साउन २ — नेपाली साहित्य, कला र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू आज नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघका चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व वडा अध्यक्ष रामेछापका एक नेता छन्।

अध्यक्ष प्रचण्डले स्वागत गर्दै भने, “हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन। तपाईहरूको आगमनले परिवर्तनलाई जनताको पक्षमा मजबुत बनाउनेछ।”

उनले माओवादी केन्द्रकै पहलमा देशमा सामाजिक रूपान्तरण सम्भव भएको उल्लेख गर्दै भने, “केही मानिस माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर असहज महसुस गर्छन्, तर हामीले देशको ऐतिहासिक परिवर्तनमा निर्णायक भूमिका खेलेका छौं।”

संस्कृति र कलाको भूमिकामाथि जोड दिँदै प्रचण्डले पार्टीमा कलाकार र स्रष्टाहरूको समावेशलाई आवश्यक र सकारात्मक कदम भने।

नवप्रवेशी चन्दु गोर्खालीले कांग्रेसको लामो यात्रापछि असन्तुष्टि जनाउँदै माओवादी रोजेको बताए। “जनताको पक्षमा स्पष्ट कार्यदिशा देखेपछि म यहाँ आएको हुँ,” उनले भने।

प्रचण्डले आगामी दिनमा अझ धेरै क्षेत्रका व्यक्तित्वहरूलाई संगठित गर्दै, उनीहरूको योगदानलाई संस्थागत गर्ने तयारी रहेको जानकारी दिए।