
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
पोस्टरमा चौरासियालाई कारागारको तारबारमाथि उभिएर चिच्याइरहेको जस्तो देखाइएको छ। उनको तल विराटनगर कारागार देखिन्छ भने अगाडि खैरो रंगको मनि ब्याग राखिएको छ। यी दृश्यहरू मिलेर उनी या त फिरौती तिर्दैछन् वा फिरौती उठाउँदैछन् भन्ने संकेत गर्छन्। तर पोस्टरमा प्रयोग गरिएको शान्त र निलो रंगको संयोजनले कथामा रहस्य र विरोधाभास थपेको छ। यसले दर्शकमा कौतुहलता बढाएको छ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ आगामी भदौ २७ गते नेपालमा प्रदर्शनमा आउँदैछ। यसको हिन्दी संस्करण भने असोज ६ (सेप्टेम्बर २२) मा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।
पैसाको लोभमा फस्ने र त्यहाँबाट उम्किन संघर्ष गर्ने पात्रको कथामा आधारित यो चलचित्र हाल पोस्ट–प्रोडक्सन चरणमा रहेको छ।
चलचित्रमा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाको मुख्य भूमिका रहेको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन्, जुन उनको निर्देशकको रूपमा डेब्यु हो। चलचित्रको लेखन मुकेश खनालले गरेका हुन् भने क्रिएटिभ निर्देशकमा मदन थापा रहेका छन्।
चलचित्रका निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी, सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।
चलचित्रका अन्य प्राविधिक टिममा जीवन शाक्य (लाइन प्रोड्युसर), आकाश उखेडा (मुख्य सहायक निर्देशक), मदन घिमिरे (सम्पादक) र सरोज श्रेष्ठ (निर्माण नियन्त्रक) रहेका छन्। छायांकनको जिम्मा शरद महतोले सम्हालेका छन्।









