
बागलुङ, असार २८ – ताराखोला गाउँपालिका–३ पिरेचामा बोलेरो गाडी दुर्घटना हुँदा १६ जना यात्रु सवार रहेकोमा एकजना गम्भीर घाइते भएका छन्।
ताराखोलाको असारे मेलाबाट गल्कोट फर्कदै गरेको ग १ ज ७१८९ नम्बरको बोलेरो पिकअप जीप आइतबार राति करिब १० बजे सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटना पिरेचाको बगर नजिकै भएको हो।
इलाका प्रहरी कार्यालय हरिचौरका अनुसार, गाडीमा सवार गल्कोट नगरपालिका–६ का प्रतिक श्रीस गम्भीर घाइते भई उपचारका लागि पोखरा रिफर गरिएको छ भने अन्य घाइतेहरूको गल्कोट नगर अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











