सीता दाहालको स्मृति दिवसमा अध्यक्ष प्रचण्ड मानव सेवा आश्रममा

-


     हिड्न खबरदाता     
     असार २७ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार २७ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वर्गीय सीता दाहालको स्मृति दिवसको अवसरमा रानीवनस्थित मानव सेवा आश्रम पुगेका छन्।

माओवादी आन्दोलनकी अभिभावक सीता दाहालको सम्झनामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आश्रममा आश्रय लिइरहेका व्यक्तिहरूसँग आत्मीय भेटघाट गरेका थिए। उनले उनीहरूसँगै बसेर भोजन गराइदिएका थिए र स्वयं पनि उनीहरूसँगै भोजन गरेका थिए।

कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री रहेको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारीसाधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए। उनले मानव सेवा आश्रमले देशभर सञ्चालन गरिरहेको सेवा र उद्धारका सकारात्मक कार्यहरूमा सहयोग गर्ने आश्वासन पनि दिए।

मानवसेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले आश्रमको कामलाई प्रेरणादायी र अनुकरणीय बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्याए।