परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फर्किन्

-


     हिडन खबर    
     असार २७ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार २७ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा सम्पन्न खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं अधिवेशन र उच्चस्तरीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएकी छन्।

जुन २८ देखि जुलाई ४ सम्म चलेको सम्मेलनमा मन्त्री डा. राणाले प्रमुख सत्रहरूसँगै आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्दै नेपालले खाद्य अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी गराएकी थिइन्। उनले खाद्य सुरक्षाका लागि बनेका कानुनी र नीतिगत प्रबन्ध तथा उपभोक्ता संरक्षण, प्रयोगशाला निगरानी र नियामक मापदण्डहरूबारे प्रकाश पारेकी थिइन्।

डा. राणाले अतिकम विकसित, साना टापु र भूपरिवेष्ठित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषणको अवस्था, जलवायु परिवर्तनका प्रभावहरूबारे धारणा राख्दै विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन्। उनले नेपालजस्ता मुलुकका लागि जलवायु वित्तमा अनुदान सुनिश्चित गर्न आग्रह गर्दै दिगो कृषि प्रणालीका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औंल्याएकी थिइन्।

एफएओ सम्मेलनपछि डा. राणा जर्मनी भ्रमणमा रहँदा जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। बर्लिनमा भएको उक्त भेटमा नेपाल–जर्मनी व्यापार विस्तार, निजी क्षेत्रबीचको सहकार्य, रासायनिक मल कारखानामा सम्भावित लगानी, तथा सिधा हवाई उडानका सम्भावनाबारे कुराकानी भएको थियो।

सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तयारीमा रहेको सन्दर्भमा, मन्त्री राणाले युरोपेली युनियन, जर्मनी तथा अन्य साझेदारबाट स्रोत, प्रविधि र वित्तीय सहयोगको अपेक्षा रहेको उल्लेख गरिन्। साथै, नेपालले युरोपेली आयोग (इयु) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) का मापदण्ड अनुसार कानुन निर्माण गरिसकेको उल्लेख गर्दै, नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीको सहयोग माग गरिन्।

नेपालले राष्ट्रसङ्घको मानवअधिकार परिषद, आर्थिक तथा सामाजिक परिषद तथा सुरक्षा परिषदको अस्थायी सदस्यताका लागि उम्मेदवारी दिएकाले त्यसमा जर्मनी सरकारको समर्थनको आग्रह पनि डा. राणाले गरेकी थिइन्।

परराष्ट्रमन्त्री डा. राणा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालद्वारा आयोजित नेपालमा लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा समेत सहभागी भएकी थिइन्।

उहाँलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए।