‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ — आठ सहरमा एकसाथ पोस्टर सार्वजनिक, कथा जस्तो पोस्टरमा पात्रको द्वन्द्व

-


     हिडन खबर    
     असार २२ गते २०८२ मा प्रकाशित


काठमाडौं ।असार २२

नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक गरिएको छ। विशेष शैलीमा प्रचारप्रसार गर्दै निर्माण टिमले देशभरका आठ प्रमुख सहरमा एकसाथ पोस्टर सार्वजनिक गरेर दर्शकको ध्यान खिच्ने प्रयास गरेको छ।

काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जमा शनिबार दिउँसो साढे ३ बजे बेलुन उडाउँदै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो।

“देशैभर एकसाथ पोस्टर सार्वजनिक गरेर चलचित्रप्रति उत्सुकता जगाउने उद्देश्य राखेका हौं,” निर्माता बिमल न्यौपानेले बताए।

फिल्मको प्रचारप्रसारलाई फरक ढंगले प्रस्तुत गर्दै मोफसलका दर्शकमाझ पनि फिल्मबारे जानकारी पुर्‍याउने रणनीति अन्तर्गत यस्तो अभियान चलाइएको निर्माण टिमको भनाइ छ।

दुईवटा पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टर डिजाइन गरेका छन् राकेश दहालले।

पहिलो पोस्टरको दृश्यभाषा

पहिलो पोस्टरमा विजय बराल, केकी अधिकारीमिरुना मगर देखिन्छन्। केकी र मिरुनाले समाएको धागोबीच विजय उभिएका छन्। मिरुना बेहुलीको भेषमा देखिएकी छिन् भने विजय, केकीको निलो र मिरुनाको रातो रंगको बीचमा आधाआधा टोनमा प्रस्तुत छन्।

यसले विजय बराल जातीय दवाव र प्रेमबीच दोधारमा परेका पात्रको छवि दिन्छ। केकी विजयको दिदीमिरुना प्रेमिका जस्तो प्रस्तुत छन्।

दोस्रो पोस्टरको प्रतीकात्मकता

अर्को पोस्टरमा केवल केकी अधिकारी प्रस्तुत छिन्, जसको हात पहेंलो, निलो र रातो धागाले बाँधिएको छ। यसले सामाजिक बन्धनमा बाँधिएर पनि भावनात्मक निर्णय लिनुपर्ने अवस्थालाई चित्रण गरेको छ।

पोस्टरमा लेखिएको छ —
“जति पीडा भए पनि, कहिले ऐया नभन्ने मेरी दिदी”
— जसले विजयको जीवननिर्णयमा दिदीको साथ र बलिदानलाई संकेत गर्छ।

पोस्टरको रङ, धागो र द्वन्द्व

पोस्टरमा देखिएका रङ र धागोको प्रतीकात्मक प्रयोगले पात्रहरूको मनोवैज्ञानिक द्वन्द्वलाई दर्शाउँछन्। जात, परम्परा र प्रेमबीचको संघर्ष सिनेमाको मुख्य विषय बन्ने संकेत यी पोस्टरहरूबाट प्रष्ट हुन्छ।

बलियो स्टारकास्ट र प्राविधिक टोली

जनै हराएको मान्छे : सम्बन्धका धागाहरू हिमाल न्यौपानेको निर्देशनमा बनेको हो।
विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापा चलचित्रका प्रमुख कलाकार हुन्।

चलचित्रमा मनिष राउत (प्रेमगीत ३ का अभिनेता) सहनिर्देशकको भूमिकामा छन्।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

नवीन गुरुङको छायांकन, थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत, र गोविन्द शाहीको काफिया फिल्मसको वितरण रहेको चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउनेछ।

‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको अर्को बहुप्रतिक्षित मुख्य भूमिका

अल टाइम ब्लकबस्टर बनेको पूर्णबहादुरको सारंगीपछि विजय बराल मुख्य भूमिकामा देखा पर्दैछन्।
२०८१ सालमा बलियो प्रस्तुतिका साथ दर्शकमाझ आउन लागेको यो फिल्म, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’, विजय र केकीको सहकार्यमा बनेको बहुप्रतिक्षित चलचित्र हो।