
काठमाडौं, असार १७
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छन्।
**संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ)**को रोममा जारी ४४औँ महासभाअन्तर्गत आज सम्पन्न कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालका मौलिक र विशिष्ट कृषि उत्पादनमार्फत विश्व बजारमा लाभ लिन सकिने उल्लेख गर्दै त्यसका लागि ठूला लगानी आवश्यक रहेको बताइन्।
“कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीतिअनुसार केही ठूला कम्पनीहरूले लगानी गर्न थालेका छन्,” मन्त्री राणाले भनिन्, “तर पर्याप्त वैदेशिक लगानी तथा आधुनिकीकरणको अभावमा नेपालको सम्भावनायुक्त कृषि क्षेत्रले अपेक्षित उन्नति गर्न सकेको छैन। कृषि उपजको निर्यात वृद्धि गर्न हामीलाई व्यापक वैदेशिक लगानीको खाँचो छ।”
कृषिमा नवप्रवर्तन र प्रविधिको प्रयोग आवश्यक
मन्त्री राणाले कृषिमा नवप्रवर्तन, कृत्रिम बौद्धिकता (AI) को उपयोग, ड्रोन प्रविधिमार्फत खेती लगायतका उपायमार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकरण गर्दै आकर्षक बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
उनले कृषिमा संलग्न व्यक्तिहरूलाई अझै पनि हेय दृष्टिले हेर्ने प्रवृत्तिका कारण यो क्षेत्रलाई व्यवसायिक र मर्यादित पेशाका रूपमा स्थापित गर्न कठिनाइ भएको बताउँदै कृषि क्षेत्रको सामाजिक छवि बदल्नुपर्ने आवश्यकता औंल्याइन्।
“कृषकहरूको सामाजिक पहिचान अझै सकारात्मक छैन,” उनले भनिन्, “जब म कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनेँ, केहीले मलाई ‘किन यस्तो समिति रोज्यौ?’ भनेर प्रश्न गरे। तर त्यो मैले नै रोजेकी थिएँ।”
कृषि, विप्रेषण र अर्थतन्त्रको सम्बन्ध
मन्त्री डा. राणाका अनुसार, नेपालको ८३ प्रतिशत भूभाग पहाडी वा हिमाली क्षेत्र रहेको र जमिन स–साना टुक्रामा बाँडिएको हुँदा कृषि कार्य चुनौतीपूर्ण रहेको छ। यद्यपि, कृषि नै लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र र गरिबी निवारणको मूल माध्यमका रूपमा रहेको उनले बताइन्।
नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा विप्रेषणको योगदान ३५ प्रतिशत रहेको र कृषिको योगदान २३ प्रतिशत रहेको उल्लेख गर्दै मन्त्री राणाले हालसम्म पनि ८० प्रतिशत जनसंख्या कृषि पेशामै आश्रित रहेको जानकारी दिइन्।
जलवायु परिवर्तन र कृषिमा प्रभाव
हालको जलवायु परिवर्तनका कारण कृषिमा प्रतिकूल असर देखिन थालेको र गाउँगाउँमा युवाहरूको अभाव तथा जंगली जनावरको आक्रमण बढ्दै जानु गम्भीर समस्या भएको मन्त्री राणाले बताइन्।
“युवाशक्ति बाहिरिएसँगै खेतीबालीमा जंगली जनावरको आक्रमण र मानव–वन्यजन्तु द्वन्द्व बढेको छ,” उनले भनिन्, “कृषिलाई शिक्षा, पोषण र स्वास्थ्यसँग जोडेर अगाडि बढाउने हाम्रो प्रयास अहिले प्रभावकारी बन्दै गएको छ।”














