
काठमाडौं, असार १७
पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले संघीय निजामति सेवा विधेयकमा गम्भीर षड्यन्त्र भएको दाबी गर्दै त्यसमा संलग्न व्यक्तिहरूलाई छानबिन गरेर कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
**योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल)**को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधेयकमा चलखेल र छेडखानी भएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएका हुन्।
“परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको छ। संघीय निजामति सेवा विधेयकमा पनि त्यसको प्रयास देखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कसले बदमासी गर्यो भन्नेबारे छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनु अपरिहार्य छ।”
उनले जनताको रगत–पसिना र त्याग–तपस्याबाट प्राप्त उपलब्धिहरूलाई कमजोर बनाउने प्रवृत्ति नयाँ नभएको भन्दै अब त्यो स्वीकार्य नहुने चेतावनी दिए।
“संविधान र परिवर्तनको मर्ममाथि प्रहार गर्ने, यथास्थितिलाई पुनःस्थापित गर्ने कोसिस फेरि भइरहेका छन्,” उनले स्पष्ट पारे, “हामी पार्टी अभियान रोकेर पनि प्रतिगमनविरुद्ध प्रतिवाद गरेका छौं, अब पनि त्यो लडाइँ जारी रहनेछ।”
वाइसिएललाई पार्टी विचार र जनभावनासँग जोडिएर अघि बढ्न निर्देशन
अध्यक्ष प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, नीति र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरे।
“वाइसिएल पार्टीको उत्तराधिकारी संगठन हो, यो प्रतिक्रियावादी षड्यन्त्र चिर्ने अग्रपंक्तिको शक्ति हो,” उनले भने, “पार्टीको आठौं महाधिवेशनले पारित गरेको मार्गनिर्देशनलाई जनतामाझ पुर्याउनु अहिलेको प्राथमिकता हो।”
उनले अहिलेको जटिल राजनीतिक परिस्थितिमा वाइसिएलले जनताको पक्षमा स्पष्ट अडान लिनुपर्ने उल्लेख गर्दै भने,
“युवा आन्दोलन सधैं जनताको समस्यासँग जोडिएर अघि बढेको छ। अहिले पनि वर्गसंघर्ष थप पेचिलो बन्दै गएको अवस्थामा विचार, नेतृत्व र संगठनको रक्षा गर्दै क्रान्तिकारी धारलाई बलियो बनाउन जरुरी छ।”
मध्यपहाडी लोकमार्गपछि संगठन निर्माण अभियानमा वाइसिएलको सक्रियता आवश्यक
पुर्व प्रधानमन्त्री प्रचण्डले वर्षायामपछि सुरु गरिने मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने र त्यसपछि संगठन निर्माणको चरण सुरु गर्ने तयारी रहेको जानकारी गराउँदै वाइसिएललाई त्यसमा अग्रसर हुन आग्रह गरे।
“वर्षातपछि संगठन निर्माण अभियान सुरु हुन्छ। वाइसिएलले जुजारु भूमिका खेल्दै संगठनलाई पुनः सबल बनाउने दिशामा प्राथमिकता दिनुपर्छ,” उनले भने।












