‘गोबर गणेश’ निर्माण गर्दै बल्छी धुर्बे, माघ १ मा प्रदर्शन

-


     हिड्न खबरदाता     
     असार १७ गते २०८२ मा प्रकाशित


काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले चलचित्र ‘गोबर गणेश’ निर्देशन गर्ने भएका छन्। टेलिचलचित्रमार्फत दर्शकमाझ लोकप्रिय बनेका उनी अब ठूला पर्दामा आफ्नो निर्देशनमा चलचित्र ल्याउन लागेका हुन्।

**‘बल्छी धुर्बे फिल्मस्’**को प्रस्तुति रहने चलचित्र माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। हालसम्म चलचित्रका लेखक र अन्य प्राविधिकबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

टेलिचलचित्र **‘मेरी बास्सै’**बाट अभिनय यात्रा सुरु गरेका मरिचमानले पछि ‘हल्का रमाइलो’ र **‘जुठे’**जस्ता लोकप्रिय टेलिसिरियल निर्देशन गरेका थिए। नयाँ चलचित्रमा उनी अभिनय गर्ने वा नगर्ने भन्नेबारे भने खुलाइएको छैन।

चलचित्रको मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी रहनेछिन्। यस्तै, पदम तामाङ, सन्तोष बानियाँ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिनापुजन घिमिरे (पुकु) कलाकारको रूपमा रहनेछन्। उल्लेखनीय कुरा के छ भने सीतादेवी हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) की पत्नी हुन् भने पुजन ‘हल्का रमाइलो’ सिरियलमार्फत चिनिएकी कलाकार हुन्।

यद्यपि, कलाकारको टुंगो लागे पनि निर्माण पक्षले आधिकारिक रूपमा सम्पूर्ण विवरण खुलाएको छैन। निर्देशक मरिचमान भन्छन्,

“हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ। अहिलेका लागि टाइटल घोषणा र प्रदर्शन मिति मात्र सार्वजनिक गरेका हौँ। कथा के हो भन्ने पनि छिट्टै खुलाउनेछौँ। तर नामले नै जनराको सङ्केत दिइसकेको छ— हामी हसाउन आउने हो। कमेडीको जगमा ‘गोबर गणेश’ आउनेछ।”


चलचित्रको पब्लिसिटी डिजाइन टौवा स्टुडियोले गर्नेछ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहनेछ। नेपालभित्र श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।