
बागलुङ/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई ६ वटा पालिका , नेकपा माओवादी केन्द्रलाई दुई वटा पालिका र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको गठबन्धन कार्यदलका एक सदस्यले हिडन खबर लाई बताउनुभयो ।
गठबन्धन दलको सहमति अनुसार कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिने छ ।
माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुखमा उमेद्वारी दिने छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिने सहमति भएको छ ।
बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उप प्रमुखमा उमेद्वारी दिने छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओबादी केन्द्रको भागमा परेको छ । राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ । माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सहमति गरेको छ ।
वडा अध्यक्ष तथा वडा सदस्यको बाँडफाँडका लागि छलफल चलिरहेको छ । वडा अध्यक्ष र वडासदस्यको समेत सहमति भएपछि आजै साझा प्रेस बिज्ञप्ती सार्वजनिक गर्ने गठबन्धनले जनाएको छ । बागलुङ नगरपालिकाको प्रमुखसहित केही वडाअध्यक्षमा दावी गरेको एकिकृत समाजबादी भने गठबन्धन कार्यदलकाे छलफलबाट बाहिरीएको छ ।
निर्वाचनको लागि उमेदवारी दिन निर्वाचन कार्यालयले बैशाख ११ र १२ गते दुई दिनको समय सिमा ताेकेकाे कारणले पनि राजनीति दलहरूले आफ्नो पार्टीको तर्फबाट उमेदवार बनाउने ब्यक्तिकाे नाम सार्वजनिक गरेको छैन ।अहिलेसम्म पनि टिकटको लागि उमेदवारका आकांक्षीहरू गण्डकी प्रदेशमा गएर नेताहरू संग आआफ्नो पक्षमा लबिङ गर्न ब्यस्त देखिन्छन् ।












