
बागलुङ, असार १६
बागलुङ नगरपालिका-६ मा अवस्थित लहरेपिपल माध्यमिक विद्यालयमा संस्थापक अध्यक्षसम्बन्धी अभिलेख विवाद चुलिएको छ। यस विवाद समाधानका लागि नगरपालिका कार्यालयले एक हप्ते अल्टिमेटम जारी गरे पनि विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
नगरपालिकाले विद्यालयलाई संस्थापक अध्यक्षसम्बन्धी विवाद समाधान गरी विद्यालयको अभिलेख अद्यावधिक गर्न गत महिना एक हप्ते अल्टिमेटम दिएको थियो। तर डेढ महिना बितिसक्दा पनि विद्यालयले कुनै औपचारिक जवाफ नदिएको नगरपालिकाको भनाइ छ।
यसअघि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा अभिलेखमा हेरफेर गरिएको आरोपसहित विवाद अदालतसम्म पुगेको थियो। जिल्ला शिक्षा कार्यालयका तत्कालीन निरीक्षक बलराम जोशीको निरीक्षण प्रतिवेदनअनुसार विद्यालयको सञ्चालक समितिका संस्थापक अध्यक्ष स्वर्गीय इन्द्रलाल उपाध्याय रहेको प्रष्ट प्रमाण हुँदाहुँदै पनि विद्यालयले मौखिक आधारमा अर्कै व्यक्तिलाई संस्थापक मानेको स्थानिय समाजसेवी बालकृष्ण आचार्यले बताए।
विद्यालयले बलपूर्वक इतिहास मेट्ने नियतले कार्य गरेपछि स्वर्गीय उपाध्यायको परिवार अदालतको शरणमा जान बाध्य भएको थियो। परिवारका तर्फबाट दायर गरिएको मुद्दामा उच्च अदालत पोखराले २०७५ साल असार १० गतेको उत्प्रेषण परमादेशमा, मौखिक प्रमाणका भरमा विद्यालयको अभिलेख अद्यावधिक गर्न नमिल्ने ठहर गरेको थियो।
तर विद्यालय व्यवस्थापन समितिले २०१६ सालकै लिखित प्रमाणलाई बेवास्ता गर्दै २०६२ सालमा प्रकाशित विद्यालय स्मारिका ‘दर्पण’लाई आधार मानेर स्वर्गीय धनपति उपाध्यायलाई संस्थापक अध्यक्षको रूपमा उल्लेख गर्दै आएको छ।
“दर्पणमा प्रकाशित सामग्रीको आधारमा धनपति उपाध्यायलाई संस्थापक मानिएको छ, जुन सरासर झूट हो र इतिहास मेट्ने प्रयास हो। यस्ता अन्यायका विरुद्ध हाम्रो परिवारले प्राण रहेसम्म संघर्ष गर्नेछ,” इन्द्रलाल उपाध्यायका एक परिवार सदस्यले प्रतिक्रिया दिए।
बिद्यालयका प्रधानाध्यापक कृष्ण सुवेदीले अहिले आइरहेको बिद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष इन्द्रलाल उपाध्याय र धनपती उपाध्याय बारेकाे विवाद बारे बागलुङ नगरपालिकाका शाखा अधिकृत धनप्रसाद पाेखरेलले पठाएको पत्र बिद्यालय ब्यवस्थापन समिति लाई बुझाइ सकेको हुदा त्यसमा आफ्नो केही भुमिका नहुने बताए ।जहाँसम्म दर्पणमा अध्यक्ष धनपति लेखलेखिएकाे कुरा आफू यश बिद्यालयमा आउनु भन्दा पहिला छापिएको हुदा त्यो थाहा नभएको बताए ।
बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पाेखरेलले बैशाख २२ गते ३०६८ नम्बरको चलानी सहितको पत्र बिद्यालयमा पठाएपनि अहिलेसम्म त्यसलाई बेवास्ता गरेपछि विवाद समाधान हुन नसक्दा समस्या झन बल्झिदै गएको देखिन्छ ।









