
ताराखोला, बागलुङ — असार १४
बागलुङको ताराखोला गाउँपालिका–३ स्थित मनेल भित्री सडकखण्डमा एक टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
दुर्घटना शनिबार साँझ ६:२० बजे भएको हो। धादिङ धुनिबेँसी नगरपालिका–९ घर भएका ४२ वर्षीय संजय तामाङले चलाएको बा ४ ख ८७२७ नम्बरको टिपर हटियाबाट ताराखोला जाँदै गर्दा करिब ५० मिटर तल खस्न पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा परेर टिपरमा सवार उदयपुर गढी गाउँपालिका–१ घर भएका २६ वर्षीय सहचालक लिलबहादुर राई सहित दुई जना घाइते भएका हुन्। दुवैको हात र खुट्टामा चोट लागेको र बोल्न सक्ने अवस्थाको मध्यमस्तर रहेको जनाइएको छ। उनीहरूलाई गल्कोट नगर अस्पतालमा उपचारका लागि ल्याइएको घाइतेहरूलाइ थप उपचारको लागि पाेखरा रिफर गरिएको छ ।
घटनापछि ईलाका प्रहरी कार्यालय ताराखोलाबाट प्रनानी विष्णुप्रसाद शर्मा को नेतृत्वमा तीन जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। दुर्घटना स्थल ईप्रका ताराखोलाबाट करिब २ किलोमिटर दक्षिणमा पर्छ।









