
१४ असार, भक्तपुर
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिलाई पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ।
नेपाल उद्योग व्यापार महासंघद्वारा आयोजित सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा रहँदा दलाल पूँजी नियन्त्रण गर्दै उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी राष्ट्रिय पूँजीलाई अघि बढाउने अभियानमा थियौं, तर विडम्बनावश दलाल पूँजीपतिहरूले यो कुरा चाँडो बुझे र सत्ताबाट हटाउन कांग्रेस र एमालेलाई प्रयोग गरे।”
प्रचण्डले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता ठूला पूर्वाधार योजनाबाट देशका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, आठवटा उत्तरी नाका खोल्ने निर्णयले भारतमा निर्भरता घटाउने काममा सहयोग गरेको छ।
पूर्व सरकारको उपलब्धिका रूपमा विद्युत् लोडसेडिङ अन्त्य, किसान ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयनलाई स्मरण गर्दै, उहाँले माओवादी केन्द्र आगामी दिनहरूमा पनि जनमुखी नीतिमा प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो।
कार्यक्रममा उद्योगी, व्यवसायी र महासंघका प्रतिनिधिहरूले लगानी वातावरण, आर्थिक नीति स्थायित्व लगायतका विषयमा आफ्ना सुझावहरू राखेका थिए। कार्यक्रममा उपमहासचिव वर्षमान पुन र महासंघ फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।












