६२ जना चिकित्सक माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत

-


     हिड्न खबरदाता     
     असार १४ गते २०८२ मा प्रकाशित


१४ असार, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ६२ जना चिकित्सकहरूलाई औपचारिक रूपमा स्वागत गरेका छन्।

शनिबार राजधानीस्थित पेरिस डाँडामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ती चिकित्सकहरूलाई पार्टीमा स्वागत गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउँदै आएका दक्ष जनशक्तिहरूको पार्टीमा प्रवेशले माओवादी आन्दोलन थप सशक्त हुने विश्वास व्यक्त गरे।

“माओवादी आन्दोलन वैज्ञानिक समाजवादमा आधारित रहेकाले वैज्ञानिक पृष्ठभूमिका पेशाकर्मीहरू पार्टीमा प्रवेश गर्नु गौरवको कुरा हो,” प्रचण्डले भने, “जनताको पक्षमा काम गर्ने प्रतिबद्धता बोकेका चिकित्सकहरूको आगमनले हाम्रो राजनीतिक यात्रालाई अझ सबल बनाउनेछ।”

पार्टीमा प्रवेश गर्ने चिकित्सकहरू विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका छन्। उनीहरूले आफ्नो पेशागत जिम्मेवारीसँगै सामाजिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले माओवादी केन्द्र रोजेको बताएका छन्।

सोही अवसरमा पार्टीका नेताहरूले स्वास्थ्य क्षेत्रको सुधार, सेवा पहुँचको विस्तार र गरिब तथा वञ्चित वर्गका लागि निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यमा माओवादी केन्द्र कटिबद्ध रहेको जनाए।

पार्टी प्रवेश गरेका चिकित्सकहरूलाई अध्यक्ष प्रचण्डले फुलमाला र खादा लगाई स्वागत गर्दै भविष्यमा पार्टीको नीति निर्माण र स्वास्थ्यसम्बन्धी कार्यदिशा तय गर्न पनि सक्रिय भूमिकाको अपेक्षा गरेका छन्।