
काठमाडौं, असार १२ —
विदेशमा रहेका नेपाली नागरिकको विस्तृत विवरण संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा ल्याइएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उक्त एपको संयुक्त रुपमा शुभारम्भ गर्नुभयो।
एपमार्फत श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरुले आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न सक्ने छन्। यो प्रणालीले कुन देशमा कति नेपाली, कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहज रूपमा लिन सकिने व्यवस्था मिलाइएको छ। परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा सम्बन्धित देशका नेपाली दूतावासहरूलाई यसबाट नेपालीहरुको अवस्थाबारे अद्यावधिक सूचना प्राप्त गर्न मद्दत पुग्नेछ।
परराष्ट्रमन्त्री डा. राणाले वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीहरू सूचनाको अभावमा ठगिने, शोषित हुने र समस्यामा पर्ने गरेको उल्लेख गर्दै, अब यो एपमार्फत उनीहरुको अवस्थाको वास्तविक विवरण प्राप्त गरी तत्काल कन्सुलर सेवा र आवश्यक उद्धार गर्न सहज हुने बताउनुभयो।
त्यसैगरी, श्रम स्वीकृति नलिएर गन्तव्य देश पुगेका नेपालीहरूलाई सम्बन्धित देशकै नेपाली दूतावासमार्फत ‘वैधानिकीकरण श्रम स्वीकृति’ दिने व्यवस्था गरिएको मन्त्री डा. राणाले जानकारी दिनुभयो। उहाँले स्पष्ट पार्नुभयो, “यो व्यवस्था गैरकानुनी बाटो रोज्नेलाई प्रोत्साहन गर्ने भने होइन, बरु अहिले गैरआधिकारिक रुपमा बसिरहेका नेपालीको संरक्षण तथा सुरक्षाका लागि गरिएको हो।”
परराष्ट्र मन्त्रालयले विगतमा नेपाली डायस्पोरासम्बन्धी समस्या समाधानका लागि कार्यदल गठन गरी काम सुरु गरिसकेको उल्लेख गर्दै मन्त्री डा. राणाले पछिल्लो समय श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरूका समस्या बढ्दै गएको तथा ती समस्या बुझ्न र समाधान गर्न ‘श्रम संसार एप’ उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
श्रममन्त्री शरदसिंह भण्डारीले एप र वैधानिकीकरण श्रम स्वीकृति प्रणालीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ठूलो राहत हुने बताउनुभयो। उहाँले यसले विदेशमा रहेका नेपालीहरूको अवस्थाको तथ्यांक मात्र हैन, कागजातविहीन, श्रम स्वीकृति नलिई काम गरिरहेका तथा सेवा–सुविधाबाट वञ्चित भएकाहरूलाई समेत ठुलो सहायता पुर्याउने दाबी गर्नुभयो।
यो एप परराष्ट्र तथा श्रम मन्त्रालयको संयोजनमा सञ्चालन हुनेछ भने प्रत्येक देशमा रहेका नेपाली दूतावासहरूले एपमा जानकारी अद्यावधिक गर्ने जिम्मेवारी पाउनेछन्। विदेशमा रहेका नेपालीहरूले भने एपमार्फत आफनो विवरण स्वयम् दर्ता गर्नुपर्नेछ।









