नाबालिकामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

-


     हिड्न खबरदाता     
     असार १२ गते २०८२ मा प्रकाशित


बागलुङ, १२ असार — १४ वर्षीया नाबालिकामाथि सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोपमा बागलुङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

गत जेठ २८ गते साँझ घर फर्किने क्रममा आफन्तको घरबाट फर्किंदै गरेकी बालिकालाई बडिगाड गाउँपालिकामा सामूहिक बलात्कार गरिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेहरूमा बडिगाड गाउँपालिका–८ निवासी ३० वर्षीय यामप्रसाद श्रीस, २५ वर्षीय गुणबहादुर श्रीस र ३५ वर्षीय झमु श्रीस रहेका छन्। उनीहरूलाई घटनापछि लुकिछिपी बसिरहेको अवस्थामा सोही स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो।

थापाका अनुसार पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, बयान, जोहरी दरखास्तलगायतका प्रमाणका आधारमा जिल्ला अदालत बागलुङबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।