
१२ असार, काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धरानका प्रमुख राजनीतिक दलहरूको प्रतिनिधिमण्डलले संयुक्त ज्ञापनपत्र बुझाएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी उक्त टोलीले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ (Umbrella Act) बाट छुट्याई पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले बीपी प्रतिष्ठान पूर्वी नेपालको पुरानो तथा महत्वपूर्ण स्वास्थ्य संस्था भएको बताउँदै व्यवस्थापन पक्ष सन्तोषजनक नहुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिनुभयो।
“मैले सरकारमा हुँदा धेरै विश्वविद्यालय स्थापना गर्ने र अगाडि बढाउने काम गरें,” प्रचण्डले भन्नुभयो, “धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्छ। अहिले देखिएको पदाधिकारी नियुक्ति सम्बन्धी अन्योल र कार्यक्षमता अभाव चिन्ताजनक छ।”
उहाँले संरचनागत तथा नीतिगत सुधार गर्दै संस्थालाई अगाडि बढाउनु आवश्यक रहेको उल्लेख गर्दै मागपत्रमा उठाइएको विषय गम्भीर र समाधानमुखी रहेको बताउनुभयो।
“तपाईंहरू समाधानको स्पष्ट विकल्पसहित आउनु भएको छ, यो सकारात्मक पक्ष हो। तपाईंहरूको मागमा म पूर्ण रूपमा साथ दिन तयार छु,” अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाउनुभयो।










