
बागलुङको जैमिनी नगरपालिकामा रहेको न्यायिक समितिले नगरभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कानुनी साक्षरता तथा बालविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
यसै सन्दर्भमा बुधबार जैमिनी नगरपालिका–८ स्थित वसन्त माध्यमिक विद्यालय रिठावट, जनकल्याण मावि छिस्ती तथा वडा नम्बर ७ मा रहेको संस्कृत माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो।
“कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने सन्देश विद्यार्थीहरूसमक्ष पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो।
कार्यक्रमका क्रममा समितिका सदस्य चित्रप्रसाद चापागाईंले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो। त्यस्तै, बालमैत्री स्थानीय शासन, बालविवाह, बाल हिंसा तथा दुर्व्यवहारसम्बन्धी विषयमा बालमैत्री सहजकर्ता विमल पौडेलले सहजीकरण गर्नुभयो।
न्यायिक समितिका संयोजक शर्माले मौलिक हक, जातीय भेदभाव तथा छुवाछुत, घरेलु हिंसा, विद्युतीय कारोबार ऐन, मुलुकी देवानी संहिता लगायतका कानुनी विषयमा विद्यार्थीहरूलाई जानकारी दिनुभयो।
उक्त कार्यक्रम नगरका सबै माध्यमिक विद्यालयहरूमा क्रमशः सञ्चालन गरिने संयोजक शर्माले बताउनुभयो।









