
काठमाडौं, ११ असार २०८२
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत हुँदा हुने चलखेल र छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका अध्यक्ष प्रचण्डले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभाको कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइने कार्यप्रति असन्तुष्टि जनाउँदै सरकारलाई सचेत गराए।
“हामीले मेहनत गरेर समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। अब यस्तो चलखेल स्वीकार्य हुँदैन,” उनले भने।
प्रचण्डले संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको उल्लेख गर्दै सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराए।
“संवेदनशील विधेयकहरू जति टार्ने प्रयास गरिए पनि हामी चुप लागेर बस्दैनौं,” उनको भनाइ थियो।
प्रचण्डले प्रहरीसम्बन्धी विधेयक पारित गर्दा समय सान्दर्भिकता, व्यापक छलफल र अधिकतम परिमार्जन आवश्यक रहेको उल्लेख गरे। उनले विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय तथा संघीयताको मर्मलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
“विधेयक ढिलो भए पनि आएकोमा धन्यवाद दिन्छु, तर अब यसलाई परिमार्जन गर्दै समुचित प्रक्रिया सुनिश्चित गर्नुपर्छ,” उनले स्पष्ट पारे।
साथै, संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन सबै दलहरूबीच कानुनी आधारको निर्माणमा सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै प्रचण्डले साझा जिम्मेवारीको अनुभूति गर्न आग्रह गरे।
बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत पारित विधेयकहरूमा अनावश्यक हस्तक्षेप अस्वीकार्य हुने धारणा राखेका थिए।










