जलजला गाउँपालिकाको ५९ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक

-


     हिडन खबर    
     असार १० गते २०८२ मा प्रकाशित


पर्वत, असार १०
पर्वत जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५९ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

मंगलबार गाउँपालिका केन्द्र लामाखेतस्थित सभाहलमा सम्पन्न १९औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष दीपक आचार्यले प्रस्तुत गरेको बजेट छलफलसहित पारित गरिएको हो। त्यस्तै, अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि सर्वसम्मत रूपमा पारित भएको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरिएको कुल बजेटमध्ये ३६ करोड ५६ लाख २२ हजार रुपैयाँ चालु खर्चका लागि र २२ करोड ९७ लाख ७८ हजार रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ।

राजस्व स्रोत विवरण यसप्रकार छ:

संघीय समानीकरण अनुदान : ९ करोड २० लाख

संघीय राजस्व बाँडफाँड : ७ करोड ९१ लाख ३९ हजार १४८

प्रदेश समानीकरण अनुदान : १ करोड १६ लाख ७९ हजार

प्रदेश राजस्व बाँडफाँड : ९२ लाख ४६ हजार

संघीय सशर्त अनुदान : २६ करोड ५२ लाख

प्रदेश सशर्त अनुदान : २ लाख

संघीय समपूरक अनुदान : १ करोड ३३ लाख

संघीय विशेष अनुदान : १ करोड ६५ लाख

प्रदेश समपूरक अनुदान : ६० लाख

प्रदेश विशेष अनुदान : ४० लाख

यी सबै अनुदान र बाँडफाँडबाट नपुग हुने ९ करोड ८३ लाख ३६ हजार रुपैयाँ आन्तरिक आम्दानीबाट व्यवस्थापन गरिने उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो।

क्षेत्रगत बजेट विनियोजन
आगामी आर्थिक वर्षमा क्षेत्रगत रूपमा

कार्यालय सञ्चालन : १० करोड

शाखागत कार्यक्रम : १० करोड २७ लाख

वडागत कार्यक्रम : ४ करोड ५० लाख

दायित्व/साझेदारी : ४ करोड २५ लाख
— गरी कुल २९ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै,

सशर्त, समपूरक र विशेष अनुदान कार्यक्रमतर्फ ३० करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गाउँपालिकाले चालुतर्फ ७२.६९ प्रतिशत र पुँजीगततर्फ ५२.९९ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ। औसत प्रगति दर ६७.३७ प्रतिशत रहेको गाउँपालिकाले उल्लेख गरेको छ।

गाउँपालिका अध्यक्ष आचार्यका अनुसार आगामी वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, धार्मिक क्षेत्र, रोजगारी, पूर्वाधार, उद्यम, खेलकुद, आयआर्जन, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ।