४० देशमा एकसाथ रिलिज हुँदै नेपाली चलचित्र ‘कोशेढुंगा’

-


     हिडन खबर    
     असार १० गते २०८२ मा प्रकाशित


काठमाडौं, असार १०
निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘कोशेढुंगा’ आगामी भदौ १२ गते (अगस्ट १८) नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ रिलिज हुने भएको छ।

सर्वकालीन ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ पछि पौडेलको यो नयाँ प्रस्तुति सेभेन सिज इन्टरनेसनलमार्फत अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत, क्यानाडालगायत देशहरूमा प्रदर्शन हुँदैछ। निर्माण कम्पनीका अनुसार अन्य केही देशमा पनि वितरणका लागि छलफल भइरहेको छ।

सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालका अनुसार यो चलचित्र डायस्पोरा नेपाली सिनेमाको इतिहासमै पहिलो पटक यति धेरै देशमा एकसाथ प्रदर्शन हुन लागेको हो। उनले ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिन सक्ने विश्वास व्यक्त गरेका छन्।

चलचित्रको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौंमा गरिएको हो। गाउँले परिवेश र मौलिक कथामा आधारित यस फिल्मको फस्टलुकमा अभिनेत्री सुरक्षा पन्तलाई पछ्यौरी ओढेको ग्रामिण महिलाको रूपमा प्रस्तुत गरिएको छ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, प्रवीण खतिवडा, मन्जिल कुमार, दिनेश काफ्ले, लोकमणि सापकोटा आदिको अभिनय रहेको छ।

चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, र आशिष अविरल तथा रिदम कँडेलको संगीत रहेको चलचित्रमा सुवलमणि सापकोटा कास्टिङ निर्देशक हुन्।